Hotline Khabar | News Website काँग्रेसले उपनिर्वाचन जित्नै पर्छ, सांगठनिक निकायलाई प्रयोग गरौं: डा. डिला संग्रौला – Hotline Khabar
Nkhabar

काँग्रेसले उपनिर्वाचन जित्नै पर्छ, सांगठनिक निकायलाई प्रयोग गरौं: डा. डिला संग्रौला

'काँग्रेसले सरकारलाई सहयोग गर्दै खबरदारी गर्नुपर्छ'

  • डा. डिला संग्रौला
  • १५ भाद्र, २०७६ मा प्रकाशित

काठमाडौं, १५ भदौ । नेपाली काँग्रेस केन्द्रिय समितिको लामो समयदेखी चलिरहेको बैठकमा समसामयिक राजनीतिसहित १४ वटा एजेन्डाबारे गहन छलफल चलिरहँदा सम्पूर्ण लोकतन्त्र प्रेमीको ध्यान केन्द्रिय समीतीको बैठकले दिने निचोड वा यसले अब लिने गन्तव्य तर्फ नै केन्द्रित भएको देखिन्छ ।

त्यसैले राणाशाासन कालदेखी राजतन्त्रको अन्त्य नेतृत्व गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रको जगसम्म मुलुकलाई उभ्याउन सफल नेपाली काँग्रेस आजको अवस्थासम्म आइपुग्दा प्रतिपक्षमा छ । राष्ट्र आज अप्ठयारो परिस्थितीबाट गुज्रिरहेको छ । सात दशक भन्दा लामो यात्रा पार गरी सकेको लोकतान्त्रीक पार्टी नेपाली काँग्रेस आफ्नो स्थापना काल २००३ साल देखी २०७६ साल सम्म आइपुग्दा तत्कालिन र दीर्घकालिन कार्यनीतिको आधारमा विजय र पराजयको भागीदार भएको छ ।

त्यसैले नेपाली जनताले आशा र भरोसा गरेको र सधै जनताको सार्वभौमसत्ता, राष्टिय अखण्डता, मुलुकको स्वधिनताको लागी संघर्ष गर्ने नेपाली कांग्रेस आजको अवस्थामा अझ बढि सक्रिय क्रियाशिल, कर्मशिल, संगठित भै एकतावद्ध हुन जरुरी छ । त्यसैले नेपाली कांग्रेसको सञ्चालन भैरहेको केन्द्रिय कार्य समितीको बैठकले नितीगत रुपमा अबको रणनीतिक सवाल एवं गन्तव्य स्पष्ट रुपमा तयार गरी अगाडी जान जरुरी देखिन्छ ।

१. समसामयिक राजनीतिः
वर्तमान ओली सरकारले नेतृत्व सम्मालेको करिव १८ महिना पुरा गर्दा पनि नेपाली जनतामा आशा र भरोसा जगाउन सकेको देखिँदैन । सरकारका प्राथमिकता, सुशासन, शान्ति समृद्धि र विकास थिए । यि सवै कुरामा सरकार पुर्ण असफल भएको छ । संविधानको उल्लंघन एवं लोकतान्त्रिक मूल्य मान्यताको अवमूल्यन गर्दै सरकार अधिनायकवादी शैलीले अगाडी बढीरहेको छ ।

संस्थागत भष्टाचार, महंगी, कर, हत्या हिंसा, बलात्कार र जताततै राजनीतिकरण गर्दै राज्यलाई ठेकेदारहरुले कब्जामा लिएका छन् । मुलुकको सवै क्षेत्रमा चरम रुपमा कार्टेलिङ, सेन्डिगेड, न्यायपालिका, प्रेसस्वतन्त्रता, मानव अधिकार अभिव्यक्ति स्वतन्त्रता माथी अंकुश लाग्न पुगेको छ । अवसरै अवरको भव्य द्धारमा उभिएको ओली सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालीको नारा दुःखी नेपालीमा रुपान्तरण भएको छ ।

राज्यको सबै क्षेत्र अस्तव्यस्त छ । उत्पादकत्व क्षेत्र गतीहिन अवस्थामा छ । नयाँ प्रविधिको क्षेत्र जलश्रोत, पर्यटन तथा उद्योगधन्दामा खासै उत्साहजनक प्रगती छैन । अर्थतन्त्र निरासाजनक स्थितीमा छ । नेपालको परराष्ट्र नीति कम्युनिष्ठको विचारधाराको पक्षपोषणबाट संचालित छ । असंलग्न परराष्ट नीति भनिए पनि सरकार असंवेदनशिल देखिन्छ । जनताको जनसवाल, जनजीविका र जनसरोकारको सवालमा सरकार उदासिन छ ।

संघीयता भनेको अधिकारको विकेन्द्रीकरण, साधन श्रोतको बाडफाँड पनि हो तर, शक्तिको सिंहदरबार र वालुवाटारमा केन्द्रिकरण भएको छ । शक्तिको लोकतान्त्रिककरण, संघीयकरण र विक्षेपिकरण हुन सकेको छैन । सरकारले ल्याएका विधेयकहरु संविधानको भावना विपरित छन् । राष्टिय मानवअधिकार आयोग, राष्टिय सुरक्षा परिषदको काम कर्तव्य र अधिकार, मिडिया काउन्सील विधेयक आदी । त्यसैले वर्तमान सरकार काण्डै काण्डमा मुछिएको छ । वाइडवडी काण्ड, सुनकाण्ड, चिनीकाण्ड, वालुवाटार जग्गा खरिदकाण्ड, मेलम्चीकाण्ड, बुढिगण्डकी जलविद्युत परियोजना जस्ता भष्टचार काण्डको भण्डाफोर गर्न सात वटै प्रदेशमा भष्टचार विरोधी सभा संचालन गर्नुपर्दछ ।

२. शशक्त प्रतिपक्षको भूमिकाः

अहिले संघीय संसद र सात वटै प्रादेशिक संसदमा नेपाली काँग्रेस जिम्मेवार प्रतिपक्षको रुपमा उभिएको छ । सरकारलाई निरन्तर जवाफदेही बनाउन जनसरोकारका विषयमा सरकारलाई झकझकाउन, सरकारलाई निरन्तर खबरदारी गर्दै प्रतिपक्षको क्रियाशिलता बृद्धि गर्दै शशक्त प्रतिपक्षको रुपमा उभिन सक्नुपर्दछ । प्रतिपक्ष कमजोर भयो भने संसदलाई छलेर आफ्ना कामहरु गर्न सरकार तम्सिन सक्दछ र त्यसैले राम्रा कामका लागि रचनात्मक सहयोग गर्दै शशक्त प्रतिपक्षको भूमिका काँग्रेसले निभाउन सक्नुपर्दछ ।

३. छायाँ सरकारः

वर्तमान सरकार करिब दुई तिहाईको बहुमतमा छ । सरकारमा दम्भ उत्पन्न भई राज्यका विभिन्न निकाय र संस्थाहरुमा चरम राजनीतिकरण भएको छ । राज्यको स्रोत, साधन पार्टीको लागि प्रयोग हुने हल्ला मात्र गर्ने काम नगर्ने परिपाटीलाई दुरुत्साहित गरी सरकारलाई जिम्मेवार बनाउन छायाँ सरकारको आवश्यकता पर्दछ ।

त्यसैले नेपाली काँग्रेसले केन्द्रीय सरकारको मन्त्रीहरुको क्रियाकलापलाई खबरदारी गर्न सचेतकको भूमिका निभाउन छायाँ सरकार गठन गरेको छ । यसको अझ प्रभावकारीतामा जोड दिँदै प्रदेश र स्थानीय तह जहाँ काँग्रेसको स्थानीय तह छैन् त्यहाँ छायाँ सरकारको गठन गरी जनताको दुःख र समस्या प्रति उत्तरदायी बन्नैपर्दछ ।

४. संगठनको सृदृणीकरण र ब्यवस्थापनः

पार्टीको संरचनालाई समय सापेक्ष वैज्ञानिक र प्रभावकारी बनाउन सांगठनिक सृदृढिकरण अभियान सञ्चालन गरिनुपर्दछ । जबसम्म पार्टी शशक्त र सबल हुँदैन् तबसम्म पार्टीको घोषित नीति कार्यक्रम र उद्देश्यले पनि पूर्णता पाउन सक्दैन् । पार्टी शशक्त र प्रभावकारी बनाउन नेतृत्वको ठूलो भूमिका हुन्छ त्यसैले नेतृत्वले दुरदृष्टि राखी यसको आन्तरिक व्यबस्थापन गर्न जरुरी छ ।

५. स्थानीय सरकारको प्रभावकारीताः

स्थानीय तहमा कयौं ठाउँमा नेपाली काँग्रेसको पनि सरकार छ । केन्द्र र प्रदेशमा मात्र प्रतिपक्षमा छ । त्यसैले काँग्रेसले जितेका स्थानीय सबरकारमा प्रभावकारी रुपमा कार्य गर्न सक्नुपर्दछ । अवको ५ बर्ष पछि प्रतिपक्षको भूमिकामा स्थानीय तहका जनप्रतिनिधिले के कस्तो काम गरे त्यसैको आधारमा पार्टीको छविलाई असर पार्दछ । उनीहरुलाई सहयोग र सचेत गराउँदै यसको लागि पार्टीको केन्द्रमा एउटा प्रतिबद्ध शाखालाई तयार गर्नुपर्छ । त्यसमा विज्ञहरुको समूह रहनुपर्छ जसले पार्टीलाई मद्दत गर्ने र अनुगमन गर्ने गर्दछ ।

६. भातृ र शुभेच्छुक एवं जनसम्पर्र्क समितिः

भातृ र शुभेच्छुक संस्था नेपाली काँग्रेसको मेरुदण्ड हो । यिनीहरुको क्रियाशिलता, शशक्तता, मजबुतीकरण बिना पार्टी बलियो हुन सक्दैन् । तर आजको अवस्थासम्म आइपुग्दा भातृ र शुभेच्छुक संस्थाको क्रियाशिलता त्यती भरपर्दो देखिदैन् । त्यसैले उनीहरुलाई चलायमान बनाउन बिशेष नीति काँग्रेसले बनाउनुपर्दछ ।

साथै जुन जुन भातृ र शुभेच्छुक संस्थाको अधिवेशन हुन सकेको छैन । तिनिहरुको तुरुन्त अधिवेशनको मिती तोकिनु पर्दछ । यी सबैको विधानलाई पनि संघीय संरचना अनुरुप एउटै मापदण्ड निर्माण गरि एकिकृत गर्न एउटा कार्यदलको गठन गर्न जरुरी छ । जनसम्पर्क समितिको सहि ढंगले अधिवेशन सम्पन्न गरी सुदृढ बनाउन जरुरी छ ।

७. पार्टीभित्र सहमति, सहकार्य र एकताः

पार्टीभित्रका नेता एवं कार्यकर्ताबीच एकता, विश्वास, सहकार्य र सहमतिको आवश्यकता छ यसको लागि पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवादी चरित्र गुटगत राजनीति र ६०/४० को भागवण्डा अन्त्य गरिनुपर्छ । त्यसैले सहमति, सहकार्य र एकता काँग्रेसको मुल मन्त्र बनाउनुपर्दछ ।

८. जनतासंगको प्रत्यक्ष सम्वन्धः

नेपाली कांग्रेसले पार्टी संगठनको प्रत्यक्ष सुदृढीकरण गरेरमात्र हुदैन । जनताको जल्दाबल्दा समस्या र सामजिक मुद्धाहरुको अभियन्ता बन्न सक्नु पर्दछ । जनता र नेताको सम्बन्ध नङ र मासु जस्तो बनाउनको लागी निरन्तर जनताको घरदैलोमा पुग्ने, उनका गुनासो लिएर भावी रणनीति बनाई कार्यक्रम लिएर निरन्तर जानु पर्दछ । जनतासंगको प्रत्यक्ष सम्बन्धले नै अर्को निर्वाचन जित्ने आधार तयार हुने गर्दछ । त्यसैले अबको अभियान जन—जनमा काँग्रेस मन—मनमा काँग्रेसको अभियान लिएर जानु पर्दछ ।

९. समावेशीकरण र सशक्तिकरणः

नेपाली काँग्रेसले जसरी आफ्नो विधानलाई समावेशि बनाई ‘कदमजम’ को नीति अवलम्वन गरेको छ त्यसैगरी राज्यको अंग र संयन्त्रहरुमा सामाजिक दृष्टिकोणले पछाडी परेका वर्ग र क्षेत्रको प्रतिनिधित्व र पहुँचका लागी आरक्षण र सकारात्मक विभेदको नितिको पक्षमा उभिनु पर्दछ । सबै वर्गलाई सशक्तिकरणको मूल मियो भित्र ल्याउन कृषि, पर्यटन, जलश्रोत, औद्योगिकरण आदिको क्षेत्रमा दृत विकास गरी बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ, रोजगारको क्षेत्रमा नितीगत रुपमा सुधार गर्न उन्मुख हुनु जरुरी छ ।

१०. अन्य पाटीसंगको सम्बन्धः

नेपाली काँग्रेसको मुल प्रतिस्प्रधी पाटी नेकपा कम्युनिष्ट भएकाले यससंग कहिले पनि सहकार्य नगर्ने नीति लिँदै विचार सिद्धान्त मिल्ने अन्य क्षेत्रीय पार्टीसंग मुलभुत कुरामा कार्यगत एकता गरी अगाडी जान सकिने रणनीति अवलम्वन गरीनु जरुरी छ । जस्तो मधेशवादी दलको मुख्य मुद्धा संविधान संशोधन भएकाले यसको अगुवाई गदै अन्य लोकतान्त्रीक आचरण भएका पाटीसँग पनि लोकतान्त्रीक मोर्चा गठन गरी मुलुकको लोकतन्त्रमाथी वर्तमान सरकारले गरेको प्रहारको प्रतिकारमा उभिन जरुरी छ ।

११. उपनिर्वाचन र काँग्रेसको भविष्य

आगामी मंसिरमा हुन गइरहेको उपनिर्वाचनले नेपाली काँग्रेसको भविष्य निर्धारण गर्दछ । यसलाई जनमतसंग्रहको रुपमा लिँदै सम्पूर्ण आफ्ना सांगठनिक निकायलाई प्रयोग गरी अहिले देखिनै उपनिर्वाचनको तयारीमा जुट्नु पर्दछ । यो निर्वाचन काँग्रेसले जित्न जरुरी छ । यसका लागी एकताको खाचो छ ।

(डा. डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रिय सदस्य हुन् ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया
यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’
2 weeks ago

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
3 weeks ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन
3 weeks ago

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन

चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका…

Below News 2