Hotline Khabar | News Website काठमाडौं, ललितपुर र भक्तपुरमा बिजुलीका तार भूमिगत गरिन्छः कुलमान घिसिङ – Hotline Khabar
Shivangi

काठमाडौं, ललितपुर र भक्तपुरमा बिजुलीका तार भूमिगत गरिन्छः कुलमान घिसिङ

  • हटलाइनखबर
  • ३० भाद्र, २०७६ मा प्रकाशित

काठमाडौं, ३० भदौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको तीन वर्ष पूरा भएको छ । मैले जिम्मेवारी सम्हाल्दा वर्षामा समेत ८ घण्टाको लोडसेडिङ ब्यहोरिरहनु परेको थियो । प्राधिकरण झण्डै ९ अर्ब रुपैयाँ वार्षिक खुद घाटामा थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो ।

तर, प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, आम कर्मचारी र आम उपभोक्ताको साथ र सहयोगमा सम्झँदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै अहिले उज्यालो युग सुरुवात गर्न सफल भएका छौं ।

एकातर्फ लोडसेडिङ इतिहासमा विलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षमा मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को पनि मारेको छ ।

तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत करिब १५० युनिट रहेकोमा अहिले नियमित विद्युत् आपूर्ति हुन थालेपछि बढेर करिब २४५ युनिट पुगेको छ । विभिन्न कारणले रुग्ण बनेका जलविद्युत् उत्पादन, प्रसारण र वितरणका आयोजना निर्माण सम्पन्न भएका छन् ।

तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणले ठूलो सफलता हात पारेको छ । आफ्नो आम्दानी बढाउँदै लगेर प्राधिकरण मुलुककै सबैभन्दा बढी आम्दानी गर्ने संस्था बनेको छ ।

तीन वर्षमा केके भए ?

(१) वित्तीय तथा प्रशासनिक सुधारतर्फ

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव २०७३/७४ मा १ अर्ब ४७ करोड, आव २०७४/७५मा २ अर्ब ८५ करोड र आव २०७५/७६ मा ७ अर्ब २० करोड खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरण यसलाई घटाउँदै आव ०७३/७४मा २८ अर्ब १७ करोड, आव २०७४/७५मा २५ अर्ब ५९ करोड र आव २०७५/७६मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ ।

आर्थिक वर्ष २०७२/७३मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव २०७३/७४ मा ५१ अर्ब ७० करोड, आव २०७४/७५ मा ६१ अर्ब ९७ करोड र आव २०७५/७६ मा ७३ अर्ब ४६ करोडमा पुगेको छ ।

‘उपयुक्त स्थानमा उपयुक्त व्यक्ति’ भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको छ । प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत् चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मुख्य मानक मानी ग्राहक तथा वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने प्रक्रिया सुरु गरिएको छ ।

कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथा पदस्थापन गर्ने कार्यलाई नियमित तथा प्रभावकारी बनाइएको छ । मुलुक संघीयतामा गएसँगै प्राधिकरणका क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यलयमा रुपान्तरण गरिएको छ ।

(२) उत्पादनतर्फ

अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको ‘त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न भएको छ । १४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ ।

विगत तीन वर्षमा प्राधिकरणको १०४ मेगावाट र निजी उत्पादकहरुको २७१ मेगावाट गरी जम्मा ३७५ मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आएका छन् ।

प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्री बी जलविद्युत् आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ ।

भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधिन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालू आवभित्र सम्पन्न गर्ने गरी अगाडि बढाइएको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् ।

१०६० मेगावाटको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयारी अन्तिम चरणमा पुर्याई वित्तीय व्यवस्थापनको आवश्यक कार्य अगाडि बढाइएकोे छ । साथै ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडी बढाइएको छ ।

(३) प्रसारणतर्फ

आव २०७२/७३ सम्ममा विद्युत् प्रसारण लाइनको सञ्जाल २९११ सर्किट किलोमिटर रहेकोमा अहिले ३९९० सर्किट किलोमिटर पुगेको छ । गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई ६०६ सर्किट किलोमिटर चार्ज भएको छ ।

लामो समयदेखि सम्पन्न हुन नसकी रुग्ण बनेको काबेली करिडोरसहित प्रसारणतर्फ ३ र वितरणतर्फ ३४ गरी जम्मा ३७ वटा रुग्ण आयोजना गत आर्थिक वर्षमा सम्पन्न भएका छन् । १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

ढल्केवर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केवरलाई २२० केभी मा चालू गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत् आदानप्रदानको क्षमता विस्तार गरिएको छ ।

विगत तीन वर्ष्भित्र नयाँ निर्माण तथा स्तरोन्नति गरी १७१२ एमभीए क्षमताका प्रसारण सबस्टेसन थप गरिएको छ ।

(४) वितरण तथा ग्राहक सेवातर्फ

तीन वर्षअघिसम्म करिब ६२ प्रतिशत नेपालीले ग्रिडमा आबद्ध विद्युत् सेवा पाएकोमा अहिले ७८ प्रतिशत जनतासम्म यो सेवा पुगेको छ । गार्हस्थ, सामुदायिक तथा औद्योगिक ग्राहक समग्र जोड्दा उपभोक्ताको संख्या ४५ लाख पुगेको छ ।

३३ केभी र सोभन्दा मुनि करिब १० हजार सर्किट किलोमिटर लाइन निर्माण सम्पन्न भई चार्ज भएका छन् । नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सबस्टेसन प्रणालीमा थप गरिएका छन् । करिब दश हजारवटा वितरण ट्रान्स्फर्मर थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ ।

ग्राहकले विद्युत् महशुल बुझाउन कार्यालयमै जानु पर्ने अवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको छ । स्मार्ट मिटर प्रणाली काठमाडौं उपत्यकामा नमुना परियोजनाको रुपमा अघि बढाउन ठेकेदार कम्पनी छनोट गरी काम सुरु गरिएको छ । देशभरी रहेका थ्री फेज मिटर तथा टीओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य द्रुतगतिमा अगाडि बढाएकोे छ ।

काठमाडौं उपत्यकामा जथाभावी रुपमा राखिएको तारलाई पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भूमिगत गरी व्यवस्थापन गर्न ठेकेदार कम्पनीले काम सुरु गरिसकेको छ । काठमाडौ, ललितपुर र भक्तपुर सहरमा भूमिगत वितरण लाइन बनाउने गरी कार्य अगाडि बढाइएको छ ।

५) चुहावट नियन्त्रणतर्फ

तीन वर्ष अगाडि कुल २५.७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई तीन वर्षभित्र १५.३२ प्रतिशतमा ल्याइएको छ । तीन वर्षभित्रमा १०.४६ प्रतिशत चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणले वार्षिक ७ अर्ब रुपैयाँ थप आम्दानी गरेको छ ।

(५) विद्युत् व्यापारतर्फ 

निजी क्षेत्रका ३४० आयोजनासँग ६ हजार ४४ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । आव २०७२/७३ मा २७ आयोजनासँग ४७४ मेगावाटको पीपीए भएकोमा आव २०७३/७४ मा २८ आयोजनासँग ५५६ मेगावाट, आव २०७४/७५ मा ४५ आयोजनासँग ११०३ मेगावाट र २०७५/७६ मा ८५ आयोजनासँग १४८० मेगावाटको पीपीए गरिएको छ ।

नेपाल र भारतवीच वर्षौंदेखि हुन नसकिरहेको विद्युत् अदानप्रदान समितिको बैठकलाई नियमितता प्रदान गर्दै प्रत्येक वर्ष बैठक बसी विद्युत् व्यापार एवं प्रसारण पुर्वाधार विकास गर्न आवश्यक छलफल एवं निर्णय गरिएको छ ।

आगामी कार्ययोजनाहरु

सरकारको निर्देशन र उपभोक्ताको हित नेपाल विद्युत् प्राधिकरणका लागि सर्वोपरि हो । उच्च आर्थिक विकासको लक्ष्य पूरा गर्ने सरकारको उद्देश्यअनुसार आवश्यक ऊर्जा उत्पादन, प्रशारण तथा वितरण गर्न मात्र होइन, राष्ट्रको सम्पत्ति यो संस्थालाई नाफा मूलक, अनुशासित, सम्मानित र शसक्त बनाउन स्पष्ट दृष्टिकोणका साथ प्राधिकरणलाई अघि बढाइने छ ।

विगतमा लोडसेडिङ अन्त्य गर्न मुख्य ध्यान केन्द्रित गरेकोमा अब ग्राहकको सन्तुष्टीलाई केन्द्रबिन्दुमा राखी सोहीअनुसार प्रसारण तथा वितरण लाइन र सबस्टेसनको सुदृढीकरण र विस्तारलाई अभियानकै रुपमा अगाडि बढाइने छ ।

आगामी दिनमा वर्षायाममा उत्पादित विद्युत्लाई खेर जान नदिई शतप्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने छ । लोडसेडिङ अन्त्यपछि उत्पन्न भएका चुनौतीलाई समानागर्दै सुरक्षित, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरण दृढ छ ।

अनलाइन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइने छ । प्राधिकरणले अब जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजनालार्ई गेम चेन्जर आयोजनाको रुपमा अगडि बढाउने छ ।

१) सुशासनतर्फ

संस्थागत सुशासनलाई कठोरताका साथ लागू गरिने छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने छ ।

मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू गरिने छ ।

प्राधिकरणको आन्तरिक प्रणाली र सेवा प्रवाहमा आधुनिक एवं नवीनतम सूचना प्रविधिको प्रयोग गरी ‘डिजिटल एनईए’ बनाइने छ । इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरिने छ ।

२) संस्थागत विकासतर्फ

प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत् चुहावट घटाउँदै विद्युत्को बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्थाअनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गरिने छ ।

प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युत् वितरण संस्था खोलिने छ ।

३) वितरण तथा विद्युतीकरणतर्फ

२०७९ सालभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पुर्याउने सरकारको महाअभियानलाई साथदिन र उपभोक्तालाई सुरक्षित, पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि हरसम्भव प्रयास गरिने छ । यसका लागि वितरण प्रणाली सञ्जालको विस्तार गरिनेछ ।

स्थानीय तहलाई क्रमिक रुपमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाइने छ । चालु आवमा राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरामा ग्रिड पुर्याइने छ । ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ ।

देशैभरि स्मार्ट मिटर जडान कार्य गरिनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन कार्यक्रम अगाडि बढाइने छ । आगामी दश वर्षमा दश हजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने छ ।

४) माग व्यवस्थापनतर्फ

विद्युत् खपतको दायरालाई विस्तार गरिने छ । विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलोजस्ता विद्युत्ीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने छ ।

ऊर्जा दक्षता कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने छ । ऊर्जा दक्षता भएका लिड चिम, पंखा, क्यापासिटर बैंक, पानी तान्ने मोटरलगायतका उपकरणको प्रयोगमा व्यापकता ल्याइ ऊर्जाको उच्च माग व्यवस्थापन गरिने छ ।

५) चुहावट नियन्त्रणतर्फ

प्राधिकरणमा रहेको प्राविधिक र गैरप्राविधिक चुहावटका नियन्त्रणलाई निरन्तरता दिइने छ । चालू आवमा विद्युत् चुहावटलाई १२ प्रतिशतमा झार्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिने छ ।

६) उत्पादनतर्फ

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत् आयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तर्रा्ष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ ।

६३५ मेगावाटको दूधकोसी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाइने छ । साथै उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना (८२५ मेगावाट), चैनपुर सेती (२१० मेगावाट) लगाएत चिलिमे अन्तर्गत करिब ४२५ मेगावाटका जलविद्युत् आयोजना अगाडि बढाइनेछ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट चालू आवमा करिब १००० मेगावाट विद्युत् प्रणालीमा थपिने गरी काम अगाडि बढाइने छ । २५ मेगावाटको ग्रिडमा आबद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न गरिने छ ।

७) प्रसारणतर्फ

सिंगटी–लामोसाँघु, सोलु करिडोर, दाना–कुश्मा, दोर्दी करिडोर, भरतपुर—बर्दघाट, मस्र्याङदी—काठमाडौं, चिलिमे –त्रिशुली, समुन्द्रटार—त्रिशुली थ्रीबी हव, कोसी करिडोर (इनरुवा–तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने छ । ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्च क्षमताको सबस्टेसन चालू आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने छ । देशैभरका प्रसारण सबस्टेसनलाई स्वचालित गरिनेछ ।

नेपाल र भारतबीचका विभिन्न अन्तरदेशीय प्रसारण लाइन योजनाबद्ध रुपमा निर्माण गरिने छ । बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण मोडलको टुंगो लगाई निर्माण अगाडि बढाइने छ । साथै चालू आवमा रुपन्देहीको मैनहीयादेखि उत्तर प्रदेश राज्यको सम्पतिया सम्मको १३२ केभी प्रसारण लाइनको निर्माण सुरु गरिनेछ । कुशाहा–कटैयाको दोस्रो सर्किट लाइन निर्माण सुरु गरिनेछ ।

न्यू बुटवल–अत्तरिया (कन्चनपुरको दैजी) ४०० के.भी. लाइनको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडी बढाइने छ । अन्य ४०० केभी लाइनको अध्ययन गरिने छ । नेपालको रातमाटे र चीनको केरुङसम्मको ४०० केभी क्रसबोर्डर प्रसारण लाइनको नेपालतर्फको सम्भाव्यता अध्ययन सम्पन्न गरी निर्माण अगाडि बढाउन आवश्यक पहल गरिने छ ।

८) विद्युत् व्यापारतर्फ

प्राधिकरणले भारतका ऊर्जासँग सम्बन्धित विभिन्न निकायसँग छलफल एवं वार्ता गरी नेपाल भारतबीचको डे अहेड र टर्म अहेड विद्युत् बजारमार्फत् विद्युत् व्यापार गर्न एनटीपीसी विद्युत् व्यापार निगमसँग सम्झौता सम्पन्न गरी भविष्यमा कारोबार सुरु गरिने छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच इनर्जी बैंकिङसम्वन्धी आवधारणा पत्रमा सैद्धान्तिक सहमति जुटिसकेकाले इनर्जि बैंकिङसम्बन्धी कारोबार सुरु गरिने छ ।

अन्त्यमा, माग र आपूर्तिको सन्तुलन कायम राख्न विद्युत् उत्पादनमा फड्को मार्नु पर्ने हाम्रो जिम्मेबारी हो । ‘उज्यालो नेपाल अभियान’अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयासरत रहने र नाफा सहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

आउँदो बडा दशैं, दीपावली तथा छठलगायत सम्पूर्ण चाडपर्वको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्दछु ।

(विद्युत् प्राधिकरण, कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजित पत्रकार सम्मेलनमा सम्बोधनको सम्पादित अंश ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया
महान शहिद बासुको सम्झना र हाम्रो जिम्मेवारी
2 months ago

महान शहिद बासुको सम्झना र हाम्रो जिम्मेवारी

भुगोलले वर्गीय पक्षधरतालाई छेक्न सक्दैन । त्यसैले वर्गिय आन्दोलनमा भुगोल केन्द्रीत दृष्टीकोण सहि मानिदैन तर पनि भुगोलहरु समाजिक घटना परिघटनाका…

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’
1 year ago

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
1 year ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

Below News 2