Hotline Khabar | News Website दशैंमा घुम्ने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० ठाउँ – Hotline Khabar
Nkhabar

दशैंमा घुम्ने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० ठाउँ

  • हटलाइनखबर
  • ७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ७ असोज । नेपालीहरुको महान चाड दशैंले छपक्कै छोपी सक्यो । विदेशमा भएका र काठमाडौं उपत्यकामा रहेका आफन्तहरु घर जाने तरखरमा छन् ।

उनीहरु गाडी वा प्लेनबाट घर जाने जोहो गर्दैछन् । तर, कोही–कोहीले दशैंको छुट्टीमा घुम्न जाने योजना पनि बनाउँछन् । व्यस्त दैनिकीबाट आक्रान्त बनेका मान्छेहरु नयाँ स्थानमा घुमफिर गर्दै रमाइलोसँग मनाउने योजनामा हुन्छन् ।

उनीहरुले नेपालमै रहेका महत्वपूर्ण ठाउँहरुकाबारे जानकारी नहुन सक्छ । त्यसैले यसपालीको दशैंमा घुम्न जाने तयारी भएका मानिसहरुलाई केही नयाँ ठाउँको बारेमा जानकारी लिएर आएका छौं ।

त्यसो भए कहाँ गएर दशेंमा रमाइलो गर्ने त यी हुन नेपालका चर्चित १० स्थान जसले तपाईको दशैं रमाइलो बनाइदिन सक्छ ।

१. पोखरा

नेपालको मध्यभागमा अवस्थित अत्यन्त सुन्दर नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरालाई पर्यटकहरुका लागि निकै उपयुक्त गन्तव्यको रुपमा लिइन्छ । यहाँ बर्सेनि लाखौंको संख्यामा पर्यटकहरु आउने गर्छन् । पोखराको मुटुमा अवस्थित फेवाताल र फेवातामा देखिने माछापुच्छ«े हिमालको छायाले जोकोहीको मन लोभ्याउने गर्छ ।

रुपाताल, बेगनास ताल, चमेरे गुफा, डेभिड फल्स, गुप्तेश्वर महादेवलगायत पोखराका घुम्न लायक ठाउँ हुन् । प्याराग्लाइडिङ पोखराका लागि पर्यटक भित्र्याउने अर्को माध्यम हो । प्याराग्लाइडिङमा रम्नकै लागि यहाँ थुप्रै पर्यटक आउने गर्छन् । काठमाडौंबाट सडक दुरीमा पनि नजिक रहेको पोखराले व्यस्त दैनिकीबाट थकित हुनेहरुलाई मनोरञ्जन प्रदान गर्छ ।

२. सौराहा

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा हो । साहसिक पर्यटन र वाइल्ड लाइफप्रति रुचि राख्ने पर्यटकका लागि सौराहा प्रमुख गन्तव्य मानिन्छ । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको जंगलमा नेपालमा मात्र पाइने एकसिङ गैंडासँगै विभिन्न प्रजातिका चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न सकिन्छ । पशुपक्षी प्रेमीहरुका लागि यो ठाउँ अत्यन्तै रमणीय छ । साथै नारायणी नदि किनारमा रहेका होटलहरु पनि मनोरञ्जनका मुख्य आकर्षक हुन् ।

३. राराताल

कर्णाली भन्नेबित्तिकै तपाईंको पहिलो रोजाइ रारा ताल हुन सक्छ । उसो त मौसमका हिसाबले पनि रारा पुग्नका लागि उपयुक्त समय हो यो । रारा प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक ताल हो । नेपालकै सबैभन्दा ठूलो ताल रारा १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

समुद्री सतहबाट १० हजार फिट उचाइमा रारा ताल छ । ताल वरिपरि घुम्न ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा, हाँस, जलेवाजस्ता चरा डुबुल्की मारेको दृश्यले राराको वातावरण नै भिन्न देखिन्छ ।

राराबाट फर्किएपछि तपाईंले जुम्लाको सिञ्जा उपत्यका घुम्न सक्नुहुन्छ । जुन नेपाली भाषाको उद्गमस्थल र सिञ्जा राज्यले परिचित क्षेत्र हो ।

४. से–फोक्सुन्डो

पैदल यात्रा र प्रकृतिसँग रमाउन चहानेका लागि डोल्पामा अवस्थित से–फोक्सुन्डो ताल उपयुक्त गन्तव्य हो । ट्रेकिङमा रुचि राख्नेका लागि से–फोक्सुन्डो ताल स्वर्गजस्तै हो ।

उच्च हिमाली भेग, रमणीय फाँटहरु से–फोक्सुन्डो तालमा सधैंका लागि भर्जिन छन् । तर सानो दुःखले डोल्पामा पुग्न सकिँदैन ।

५. लुम्बिनी

लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो । लुम्बिनी बुद्धकै जन्मस्थलको नामबाट नामकरण गरिएको हो । लुम्बिनी बौद्ध धर्मावलम्वीहरुको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएका कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ ।

यो विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि प्रमुख गन्तव्य हो । लुम्बिनीमा रहेको अशोक स्तम्भ, मायादेवीको मन्दिर, बौद्ध बिहार आदि हेर्नलायक छन् ।

. लाङटाङ उपत्यका

हिमालको फेदमै बसेको यो उपत्यकाको यात्रा गर्ने उपयुक्त मौसम नै शरद ऋतु हो । फोटोग्राफीमा शोख छ र हिमाली भेगको आकर्षक फोटो लिने मन छ भने यो ठाउँले तपाईंको धोको पूरा गर्छ ।

लाङटाङबाट क्यान्जिङ गोम्पासम्म पुग्दा यति धेरै आकर्षक ‘ल्याण्डस्केप’ भेटिनेछ, जसले तपाईको यात्रालाई रोमान्चक बनाउने छ । यो केही कठिन यात्रा हुन सक्छ । किनकी हिमालको फेदमै पुग्ने हो । यति थोरै दिनको यात्रामा हिमालसम्मै पुग्नै मौका अन्त सायदै भेटिएला ।

लाङटाङमा पर्यटकका लागि सुविधा पर्याप्त छन् । साना होटेल र होमस्टको समेत राम्रो सुविधा लाङटाङमा छ ।

७. मुक्तिनाथ

तपाई धर्ममा आस्था राख्नुहुन्छ भने मुक्तिनाथ यात्रा सबैभन्दा उपयुक्त हुनेछ । दशहराको समयमा मुक्तिनाथमा स्नान गर्नु धार्मिक दृष्टिकोणबाट निकै महत्वपूर्ण मानिन्छ । यो हिमाल खुल्ने समय हो ।

अलि चाँडै उकालो लाग्नुभयो भने हिमालबाट शहरतर्फ झारिएका भेँडाबोकाको लस्कर देख्ने मौका मिल्नेछ । यो दृष्य निकै चित्ताकर्षक हुन्छ ।

मुक्तिनाथ जाँदा एक रात कागवेनीमा बिताउनुहोस । तिब्बती सम्भ्यताको नमूना क्षेत्र हो कागबेनी । पुरानो सभ्यताको अवलोकन गर्दा यो पनि नेपालमै छ र ? भन्ने भान पर्छ ।

८. इलाम

इलाम चियाका लागि प्रसिद्ध स्थान हो । इलाम पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

नेपालको पूर्वी भेगमा अवस्थित इलामका रमणिय वातावरण, डाँडाकाँडा हरियाली चियाबारी, थुम्काथुम्की र बुट्यानहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई मनमोहक पार्दछ ।

हरिया चिया बगानका बिचमा अवस्थित चिल्ला सडकमा पैदल हिंड्न तथा गाडिमा शयर गर्नमा बेग्लै आनन्द मिल्दछ । चिया बाहेक छुर्पीको लागि पनि इलाम प्रसिद्ध छ ।

९. पुनहिल

नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल हो । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिन्छ ।

म्याग्दी जिल्लामा रहेको पुनहिल ३ हजार २ सय १० मिटर उचाइमा रहेको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रको एउटा मुख्य भागको रूपमा रहेको पुनहिलमा ३० वटा होटल छन् ।

१०. बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूरपश्चिममा क्षेत्रमा रहेको छ । आदिवासी थारु समुदायसँगै दशैं मनाउने मुडमा हुनेहरुका लागि बर्दिया विशेष गन्तव्य हो ।

तपाई यहाँ होमस्टेमा बस्दा सबैभन्दा राम्रो । किनकी थारु समुदायको दशैंलाई अनुभव गर्ने मौका मिल्छ । तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ ।

बर्दिया यात्राका दौरान चिसापानीको माछा खान नबिर्सनुस् । कर्णालीको आकर्षक पुल अवलोकन सोही समयमा गर्न सकिन्छ । जंगल सफारीमा समेत रमाउन सक्ने सुविधा यहाँ छ । साथै यहाँ नजिकबाट बाघको अवलोकन गर्ने अवसर पनि तपाईलाई मिल्न सक्छ । बर्दिया बसाइँमा थारु समुदायका मौलिक परिकारमा जोड दिनुहोस् ।

बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्वतिरको तराई प्रदेशमा अवस्थित छ ।

सन् १९६८ मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिए पनि सन् १९६७ मा करिब ३६८ वर्गकिलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो ।

उक्त क्षेत्रमा जानको लागि हवाई तथा सडक दुवै मार्ग प्रयोग गर्न सकिन्छ । हवाई मार्गमार्फत जान काठमाडौंबाट नेपालगन्जको उडानमा जानुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
मानव स्वास्थ्यका लागि मुलाको कस्तो महत्व छ ? जान्नुहोस् रोचक तथ्य
2 weeks ago

मानव स्वास्थ्यका लागि मुलाको कस्तो महत्व छ ? जान्नुहोस् रोचक तथ्य

औषधिजन्य गुणले भरिपूर्ण तथा बहुउपयोगी खाद्य पदार्थ मुलाको पातमा प्रशस्त मात्रामा भिटामिन–ए पाइने भएकाले यसको हरियो पातको साग भोजन गर्नाले…

यसरी हुन्छ बच्चाको हड्डी कमजोर
3 weeks ago

यसरी हुन्छ बच्चाको हड्डी कमजोर

शरीरमा भिटामिन डी, क्याल्सियम र फस्फोरसको कमीका कारण बच्चाको हड्डीमा देखिने समस्या रिकेट्स हो ।

विज्ञले भनेः फेस एप्स प्रयोग नगर्नू !
3 months ago

विज्ञले भनेः फेस एप्स प्रयोग नगर्नू !

काठमाडौं, ६ श्रावण । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको…

Below News 2