Hotline Khabar | News Website हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो ! – Hotline Khabar
Nkhabar

हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो !

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

 एजेन्सी । एउटा समय यस्तो थियो जतिबेला बिरामीलाई अस्पताल लैजानु कदापि उत्तम विकल्प मानिँदैनथ्यो ।

उन्नाइसौँ शताब्दीका अस्पतालहरूमा रोगव्याधि झनै फैलने जोखिम हुनेगर्थ्यो । अस्पतालहरूमा बिरामी र मर्न लागेका मानिसहरूका लागि न्यून सुविधा उपलब्ध थिए । त्योभन्दा त बढी बिरामीलाई घरमा नै उपचार गर्नु सुरक्षित हुन्थ्यो ।

अस्पतालमा बिरामीहरूको मृत्यु हुने दर तीनदेखि पाँचगुणा बढी थियो ।

‘मृत्युगृह’

अस्पतालहरूमा पिसाब, बान्ता र अन्य तरल पदार्थको गन्ध आउँथ्यो । त्यो यति दुर्ग्न्धित हुन्थ्यो कि कर्मचारीहरू आफ्ना नाक रुमालले छोपेर हिँड्थे ।

चिकित्सकहरू आफ्ना हात र उपकरण बिरलै धुन्थे । शल्यक्रिया कक्षहरू त्यहाँ काम गर्ने शल्यचिकित्सक जत्तिकै फोहोरी हुनेगर्थे । त्यसैले अस्पतालहरूलाई ‘मृत्युगृह’ भनिन्थ्यो ।

त्यस्तो जमानामा एक पुरुषले विज्ञानको प्रयोग गरेर रोग फैलिने क्रम रोक्ने प्रयत्न गरे । उनको नाम इग्नाच सेम्मेल्भाइस थियो ।

यी हङ्गेरियाली चिकित्सकले सन् १८४०को दशकमा मातृशिशु कक्षमा हुने मृत्यु दर घटाउने उद्देश्य लिएर भीएनामा हात धुने एउटा प्रणाली विकास गरेर त्यसलाई सञ्चालनमा ल्याउने प्रयास गरे ।

त्यो कदम प्रभावकारी हुन सक्थ्यो तर त्यो विफल भयो । किनभने उनका सहकर्मीहरूले उनको विरोध गरे र उनलाई सफल हुन दिएनन् । तर पछि गएर उनलाई ‘आमाहरूको जीवनरक्षक’ भनेर चिनियो ।

कीटाणुरहित संसार

इग्नाच सेम्मेल्भाइस भीएना जनरल अस्पतालमा काम गर्थे जहाँका कोठाहरूमा अन्य अस्पतालहरूमा जस्तै बिरामीहरूको मृत्यु हुनेगर्थ्यो ।

उन्नाइसौँ शताब्दीको मध्यपछि कीटाणुको सिद्धान्तलाई सबैले स्वीकार गरेपछि मात्र अस्पतालमा हुने फोहोरका कारण रोगव्याधि झनै फैलने गर्छ भन्ने ज्ञान चिकित्सकहरूलाई हुन थाल्यो ।

न्यूयोर्क विश्वविद्यालयमा चिकित्साशास्त्रको इतिहासका ज्ञाता ब्यारन एच लेर्नरले बीबीसीसँग भने, ‘कीटाणु र ब्याक्टेरियाको अस्तित्व नै थाहा नभएको संसार हामीलाई कल्पना गर्न पनि गाह्रो छ । उन्नाइसौँ शताब्दीको मध्यतिर कुहिएका बस्तुबाट निस्किने विषाक्त बाफका कारण रोग फैलिन्छ भन्ने विश्वास रहेको थियो ।’

टड्कारो असन्तुलन
रोगव्याधि फैलने उच्च जोखिममा रहेका बिरामीमध्ये शिशु जन्माउने अवस्थाका आमा हुनेगर्थे । शिशु जन्माउने बेला योनी च्यातिने अवस्थामा पुगेका आमाहरूलाई जीवाणु फैलने जोखिम उच्च हुनेगर्थ्यो ।

सेम्मेल्भाइसले भीएना जनरल अस्पतालका उस्तै सुविधा भएका दुई वार्डमा केही प्रस्ट फरक देखे । एउटामा पुरुष चिकित्साशास्त्रका विद्यार्थीहरू काम गर्थे । अर्कोमा चाहिँ सुँडिनीहरू काम गर्थे ।

पुरुष विद्यार्थीहरू काम गर्ने वार्डमा सन् १८४७ मा एक हजार जन्म हुँदा मातृमृत्युदर ९८.४ प्रतिशत थियो । सुँडिनीहरू काम गर्ने वार्डमा चाहिँ एक हजार जन्म हुँदा मातृमृत्युदर ३६.२ प्रतिशत थियो ।

पुरुषहरू ‘सुँडिनीभन्दा खरो ढङ्गले काम गर्ने’ भएकोले त्यस्तो टड्कारो असन्तुलन देखिएको त्यतिबेला ठानिएको थियो।

असामयिक मृत्यु ?
शिशु जन्माउने आमाहरूलाई ‘खरो ढङ्गले उपचार गरिएकोले’ उनीहरूलाई एक प्रकारको ज्वरो आएर उनीहरूको ज्यान गएको भनी औपचारिक जानकारी दिइयो । तर, सेम्मेल्भाइस त्यसलाई मान्न तयार भएनन् ।

त्यही वर्ष एउटा शवको परीक्षण गर्ने बेला हात काटिएका उनका एक सहकर्मीको मृत्यु भयो र त्यसपछि उनले केही भेउ पाए । त्यतिबेला शवहरूलाई चक्कुले काट्ने क्रममा कसैलाई सानो चोट लागेपनि त्यसले ठूलो जोखिम निम्त्याउने गर्थ्यो ।

 

सन् १७७८मा चार्ल्स डार्विनका काकाको पनि एक बालकको शव काट्ने क्रममा लागेको चोटका कारण ज्यान गएको थियो ।

भीएनामा आफ्नो सहकर्मीको मृत्यु भएको हेर्दा सेम्मेल्भाइसले ज्वरो आएर ज्यान गुमाएका नवजात शिशुका आमाहरूको जस्तै समान लक्षणहरू देखे ।

कतै शव चिर्ने कोठामा काम गर्ने चिकित्सकहरूले त्यस्तो ज्वरो फैलाउने कण शिशु जन्माउने कक्षमा लिएर त गइरहेका छैनन् ? सेम्मेल्भाइसले अधिकांश चिकित्साशास्त्रका विद्यार्थी शवहरू चिर्ने कोठाबाट सीधै मातृशिशु कक्षमा गइरहेको देखे ।

त्यतिबेला कसैले पनि पन्जा वा कुनै सुरक्षा पोसाक लगाउने चलन थिएन र विद्यार्थीहरू शव चिर्ने कोठाबाट अन्यत्र जाँदा उनीहरूको कपडामा मासुको टुक्रा वा कुनै तन्तु टाँसिएको भेटिनु सामान्यजस्तै हुन्थ्यो ।

अस्पताललाई अलग्याउने सुझाव

सुँडिनीले शव चिर्ने काम गर्दैनथे । के सेम्मेल्भाइसलाई सताइरहेको रहस्यको गाँठो फुकाउने उपाय त्यतै कतै थियो त ?

कीटाणुको समस्याबारे सबैले बुझ्नुअघि अस्पतालको फोहरमैलाको उपचार पत्ता लगाउन सहज थिएन । मातृशिशुविद् जेम्स वाई सिम्पसन (१८११/१८७०) क्लोरोफोर्मले दुखाइ हटाउने क्षमता राख्छ भनी मानवलाई सम्झाउन सफल पहिलो चिकित्सक हुन् ।

 

उनले अस्पतालका विभिन्न कक्षबीच फैलिन सक्ने सङ्क्रमण नियन्त्रण नगर्ने हो भने अस्पतालहरू नष्ट गरिदिनुपर्छ र फेरि बनाउनुपर्छ भनी तर्क गरे ।

उनीसँग अन्य वैज्ञानिक पनि सहमत भए ।

सेम्मेल्भाइसले भने त्यति ठूलो काम आवश्यक नरहेको ठाने । उनले आमाहरूको ज्यान लिने ज्वरो कुनै सङ्क्रमण फैलाउने पदार्थका कारण फैलिएको निष्कर्ष निकाल्दै उनले अस्पतालमा एउटा बेसिन जडान गरे जसमा क्लोरिन हालिएको लाइम सोल्युशन राखियो ।

शव चिर्ने कक्षबाट मातृशिशु कक्षमा जाने चिकित्सकहरूलाई त्यो एन्टिसेप्टिक सोल्युशन प्रयोग गरेर मात्र बिरामीलाई जाँच्ने नियम बनाइयो ।

सन् १८४८ सम्ममा चिकित्साशास्त्रका विद्यार्थी काम गर्ने वार्डमा हुने मातृमृत्युदर १,००० जन्म हुँदा १२.७ प्रतिशतमा झ‍र्यो ।

पुरस्कारविहीन विजय

तर इग्नाच सेम्मेल्भाइसले आफ्ना सहकर्मीहरूलाई शवबाट फैलिएको सङ्क्रमणका कारण आमाहरूको ज्यान लिने ज्वरो फैलिएको हो भनेर बुझाउन सकेनन् ।

त्यो विधिको जाँच गर्न राजी हुनेहरूले उचित तरिकाले परीक्षणमा सहभागी भएनन् र उल्टो परिणाम आएको देखाइदिए ।

‘तपाईँले के विचार गर्नुपर्छ भने उनले चिकित्साशास्त्रका विद्यार्थीले आमाहरूको ज्यान लिइरहेका छन् भन्ने सन्देश दिन खोजेका थिए । त्यसलाई स्वीकार्न कोही पनि तयार भएनन्,’ लेर्नर भन्छन् ।

त्यसपछि सन् १८८० देखि सबै मातृशिशु वार्डहरूमा एन्टिसेप्सिस राख्न थालियो ।

आफूले त्यस विषयमा लेखेको पुस्तकको धेरै आलोचना भएपछि इग्नाच सेम्मेल्भाइस आफ्ना आलोचकहरूप्रति निकै आक्रोशित भए। उनले हात नधुने चिकित्सकलाई हत्यारा भनिदिए ।

भीएना अस्पतालले उनको करार नवीकरण गर्न नमानेपछि सेम्मेल्भाइस हङ्गेरी फर्किए र बुढापेस्टको एउटा मातृशिशु अस्पतालमा मानार्थ चिकित्सकको रूपमा काम गर्न थाले ।

त्यहाँ र पेस्ट विश्वविद्यालयको मातृशिशु कक्ष आमाहरूलाई ज्वरो आउने समस्याले ग्रस्त थियो । उनले त्यसको निराकरण गरिदिए । तर उनको सिद्धान्तको आलोचना हुने क्रम रोकिएन जसका कारण उनको रिस पनि बढ्यो ।

सन् १८६१ तिर उनको व्यवहार असामान्य हुन थालिसकेको थियो। त्यसपछि उनलाई मानसिक अवस्था ठिक नभएका मानिसलाई राख्ने ठाउँमा लगिए ।

एक सहकर्मीले उनलाई नयाँ चिकित्साशास्त्र अध्ययन संस्थामा जाने भन्दै मानसिक अवस्था ठिक नभएका मानिसलाई राखिने एउटा केन्द्रमा लगिदिए ।

सेम्मेलभाइसले आफूलाई के गरिएको रहेछ त्यो थाहा पाए। उनले त्यो असाइलम छोड्न खोज्दा चौकीदारहरूले उनलाई नराम्रोसँग कुटे र उनलाई एक प्रकारको ज्याकेट लगाइदिएर अँध्यारो कोठामा थुनिदिए ।

त्यसको दुई हप्तापछि आफ्नो दाहिने हातमा लागेको चोटका कारण भएको सङ्क्रमणका कारण उनको ज्यान गयो । उनी ४७ वर्षका थिए ।

उनको मृत्युपछि लुई पास्चर, जोसेफ लिस्टर र रोबर्ट कोच आदि वैज्ञानिकले नयाँ सिद्धान्त र विधिहरू ल्याए । तिनमा सेम्मेल्भाइसको कुनै भूमिका देखिएन ।

तर पछि उनको सम्मान गरियो । हिजोआज हातको सरसफाइलाई सबैतिरका अस्पतालहरूमा सङ्क्रमण रोक्ने एउटा महत्त्वपूर्ण उपाय मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भियनामा सेल्फी सङ्ग्रहालय खोलियो
1 week ago

भियनामा सेल्फी सङ्ग्रहालय खोलियो

अष्ट्रियाको भियना शहरमा युवाहरूका लागि इन्स्टाग्राम तस्बिर खिच्न मिल्ने र आफ्नो कलाकृति बनाउन सकिने स्थान भएको सेल्फी सङ्ग्रहालय खुल्न लागेको…

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !
2 weeks ago

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ…

‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम
2 weeks ago

‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम

संसारको सब भन्दा सानो घोडाले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाएको छ । संसारको सब भन्दा सानो घोडा‘बमबेल’ नामको…

Below News 2