Hotline Khabar | News Website भारतीय समकक्षीसँग अर्थमन्त्रीको भेट, ५ सय र हजारका भारु नोट साट्ने विषयमा छलफल – Hotline Khabar

भारतीय समकक्षीसँग अर्थमन्त्रीको भेट, ५ सय र हजारका भारु नोट साट्ने विषयमा छलफल

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग शिष्टाचार भेट गरेका छन् ।

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको अवसरमा अर्थमन्त्री डा. खतिवडा र भारत सरकारका वित्त मन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिँदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराए । उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराए ।

साथै, साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेक पोष्टको कार्यान्वयन अवस्था बारेमा पनि उनले भारतीय समकक्षीलाई जानकारी गराए । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै मन्त्री खतिवडाले त्यो कार्य अघि बढाउन अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न अनुरोध गरे । साथै, भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफूसँग लैजान पाउने ठूला दरका भारु नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यसलाई स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत अनुरोध गरे ।

अर्थमन्त्री डा. खतिवडाले पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत छलफल गरे । नेपालको वैदेशिक व्यापारको दुई तिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा गरे ।

भारतका वित्त मन्त्री निर्मला सीतारमणले नेपाल–भारतबीचको सम्बन्ध सदियौँदेखि भएको उल्लेख गर्दै आउँदो दिनमा सहायतालाई बढाउने जानकारी गराए । उनले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताए । साथै, नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकोमा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराए ।

भेटमा नेपाली राजदूतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्यालको समेत उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपालमा श्रम गर्न भारतीयलाई प्रतिवन्ध
3 days ago

नेपालमा श्रम गर्न भारतीयलाई प्रतिवन्ध

काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको…

सरकारले तोक्यो पिउने पानीको मूल्य, अधिकतम खुद्रा मुल्य ५० रुपैयाँ
4 days ago

सरकारले तोक्यो पिउने पानीको मूल्य, अधिकतम खुद्रा मुल्य ५० रुपैयाँ

काठमाडौँ । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ…

तोलाकै लाख पुग्न थाल्यो सुनको मूल्य, अहिलेसम्मका सबै रेकर्ड तोडियो
1 week ago

तोलाकै लाख पुग्न थाल्यो सुनको मूल्य, अहिलेसम्मका सबै रेकर्ड तोडियो

  काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको…

Below News 2