Hotline Khabar | News Website झलनाथ खनाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच गोप्य भेट – Hotline Khabar
Nkhabar

झलनाथ खनाल र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच गोप्य भेट

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले आफ्नो मुलुकले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै पनि खालको सैन्य गतिविधि वा राजनीतिक गतिविधिलाई अघि बढाउने उद्देश्यका साथ नल्याइएको स्पष्ट पारेका छन् ।

नेपालमा चीनले अघि सारेको ‘बिआरआइ’ अवधारणामाथि व्यापक छलफल भइरहेका बेला अमेरिकी राजदूत बेरीले सत्तारूढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटगरी आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ को उद्देश्य अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउनु नरहेको प्रष्टयाएका हुन् ।

शुक्रबार बिहान काठमाडौंको डल्लुस्थित खनाल निवासमै पुगेर उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालसँगको भेटमा नेपाल तटस्थ मुलुक भएकाले सो स्ट्राटिजीमा सहभागी गराउन अमेरिकाले कुनै पनि प्रयास नगर्ने पनि दोहोर्‍याए । राजदूत बेरीले आफूसँगको भेटमा नेपाललाई आफ्नो मुलुकले अघि सारेको ‘इण्डो–प्यासिफिक स्ट्राटिजी’ मा सहभागी गराउन कुनै पनि प्रयास नगर्ने बताएका वरिष्ठ नेता खनालले जानकारी दिए ।

त्यस अवसरमा राजदूत बेरीले सो ‘स्ट्राटिजी’ कुनै सैन्य वा राजनीतिक गतिविधि अघि बढाउनका लागि नभएको पनि स्पष्ट पारेका थिए। ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ कुनै सैन्य संगठन होइन् यो कुनै राजनीतिक मोर्चा पनि होईन,’ अमेरिकी राजूदत बेरीसँगको भेटवार्तालाई उद्धृत् गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न बिलकुलै प्रयत्न गरिरहेका छैनौँ ।’

यता, वरिष्ठ नेता खनालले पनि नेपालले असंलग्नताको नीति लिएको हुनाले त्यस्ता रणनीतिक साझेदारीमा तटस्थताको भूमिका निर्वाह गर्ने जवाफ राजदूत बेरीलाई दिएका थिए ।

राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धलाई अझै घनिष्ट बनाउने विषयमा पनि छलफल गरिएको वरिष्ठ नेता खनालले बताए । नेपालमा चिनियाँ गतिविधि बढदै गईरहँदा अमेरिकी राजदूत बेरीले तीव्रता दिएको राजनीतिक भेटवार्तालाई रुचीपूर्वक हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Below News 2