Hotline Khabar | News Website कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा – Hotline Khabar
Shivangi

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

  • हटलाइन खबर
  • ३० आश्विन, २०७७ मा प्रकाशित

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस भए । परिवारजनले उनलाई तत्कालै चितवन मेडिकल कलेज लगे । आइसियूमा राखेर उपचारपछि उनी घर फर्किए, तर फर्कँदा कोरोना पनि घर भित्रियो ।
धर्मकुमार अस्पतालमा भएको वेला परिवारका सदस्य पनि उनलाई भेट्न गएका थिए । उनीहरूमा पनि एक–एक गरेर संक्रमण देखियो । ‘अस्पताल जाँदा कोरोना सरेछ । एक–दुई गर्दागर्दै परिवारका १० जनालाई संक्रमण भयो,’ नाति सुमन श्रेष्ठ भन्छन् ।
‘कोरोना लागेमा आत्तिनुपर्दैन, घरमै आइसोलेसन बसे पनि सुरक्षित भइन्छ, बेहोस हुने जस्तो भए मात्र अस्पताल जानुहोला,’ सरकारको निर्देशन छ । श्रेष्ठ परिवारले पनि घरमै बसे सुरक्षित होइने भन्ने ठान्यो । ‘तर, सरकारमा बसेका ठूलाबडाको गैरजिम्मेवार कदमका कारण हामीले ठूलो मूल्य चुकाउनुपर्यो, एक सातामा तीनजनाको निधन भएको छ, सातजना गम्भीर अवस्थामा हुनुहुन्छ,’ सुमन भन्छन् ।
धर्मकुमार घर फर्किनुअघि उनका छोराहरूलाई कोरोना संक्रमण भइसकेको थियो । उनीहरू बाबुलाई भेट्न अस्पताल जाने–आउने गरेका थिए । सुरुमा उनीहरू होम आइसोलेसनमा बस्ने कोसिस गरेका थिए । ७१ वर्षीय छोरा विष्णुकुमारलाई संक्रमण देखियो । ‘सुरुमा होम आइसोलेसनमा बस्नुभयो, गम्भीर हुँदै गएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । १९ असोजमा उहाँको ज्यान गयो,’ ज्वाइँ शंकरनारायण श्रेष्ठ भन्छन् ।
भाइ विष्णुकुमार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा रहेको वेला ७४ वर्षीय दाजु कृष्णकुमारलाई काठमाडौंको बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो । भाइको निधन भएको पाँच दिनपछि २४ असोजमा दाजुको निधन भयो ।
छोराहरू अस्पतालमा भएकै वेला धर्मकुमारलाई कोरोना देखिएको थियो । उनी पनि सिकिस्त हुँदै गए । उपचारका लागि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । छोरा कृष्णकुमारको निधन भएको अर्को दिन अर्थात् २५ असोजमा उनको पनि निधन भएको छ ।
कोरोनाले एकैपरिवारका तीनजनाको ज्यान गएपछि धर्मकुमारको परिवार मात्रै होइन, भिमाद नै शोकमा डुबेको छ । गाउँ नै पिरोलिएको छ । यो परिवारका सातजना अहिले पनि कोरोनासँग लडिरहेका छन् ।
ज्वाइँ शंकरनारायणका अनुसार कृष्ण कुमारकी पत्नी ७२ वर्षीया विश्वशान्ति काठमाडौंस्थित टेकु अस्पतालको आइसियूमा छिन् । ‘उहाँलाई संक्रमण देखिएपछि ललितपुरको कुपन्डोलस्थित सर्वांग नर्सिङ होममा भर्ना गरिएको थियो । दुई दिन त्यहाँ राखेपछि आइसियू आवश्यक भयो । त्यसैले ह्याम्स लगिएको थियो, ह्याम्समा आइसियू नभएपछि टेकु अस्पताल लगिएको छ,’ उनले भने ।
त्यस्तै, धर्मकुमारका जेठा छोरा रामकुमारलाई पनि काठमाडौंस्थित ह्याम्स अस्पतालको आइसियूमा राखिएको छोरा सुमनले बताए । ‘बुबालाई ह्याम्स अस्पतालको आइसियूमा राखेको एक साता भयो, अझै कति दिन अस्पताल राख्नुपर्ने हो थाहा छैन,’ सुमनले भने । रामकुमारकी बुहारी रजनी श्रेष्ठ पनि संक्रमित छिन् ।
कोरोना संक्रमण देखिएकी धर्मकुमारकी साइँली बुहारी पनि अस्पतालमै छिन् । उनको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यस्तै धर्मकुमारकी छोरी शुभद्रा र ज्वाइँ शिवकुमार श्रेष्ठ पनि संक्रमित छन् ।
सरकारको गैरजिम्मेवारीका कारण आफ्नो परिवारका तीनजनाले ज्यान गुमाउनुपरेको मृतक कृष्णकुमारकी छोरी सरिता श्रेष्ठ गुनासो गर्छिन् । ‘संक्रमण हुनेबित्तिकै अस्पताल जाउँ भनेर हामीले अनुरोध गरेका थियौँ, तर रुघोखोकी हो, केही पनि हुँदैन भनेर सरकारले भनिरहेको छ भनेर बुबा होम आइसोलेसनमा बस्नुभयो,’ उनले भनिन्, ‘बुबा पाँच दिनसम्म घरमै बस्नुभयो । त्यतिन्जेल उहाँको फोक्सोमा धेरै असर गरेको रहेछ ।’
अथाह मूल्य चुकाएको श्रेष्ठ परिवार कोरोना संक्रमणलाई सामान्य रूपमा लिन नहुने बताउँछ । ‘मानिसले कोरोनालाई सामान्य रूपमा लिएका छन् । यो सामान्य छैन,’ शंकरनारायण भन्छन्, ‘अरूको कुरा सुन्दा त सामान्यजस्तै लाग्छ । जब आफन्त गुमाइन्छ, त्यसपछि थाहा हुन्छ, यो कति खतरनाक छ ।’ संक्रमणलाई गम्भीरतापूर्वक लिएर उपचारको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
यो परिवारले तीनजना गुमाएको मात्र छैन, उपचारमा पैसा पनि धेरै खर्च गरिसकेको छ । ‘हजुरबुबाको उपचारमा मात्रै पाँच लाख खर्च भयो, सबैको उपचारमा १८ लाख लागिसकेको छ, अझै अस्पतालमा उपचार जारी छ,’ सुमन भन्छन्, ‘सरकारी अस्पतालमा बेड छैन, निजी अस्पतालले कति भन्छन् भन्ने ठेगान छैन । पैसा जुटाएर अस्पताल लग्दा त हामीले बचाउन सकेनौँ, केही नहुनेले कसरी उपचार गर्न सक्छन् रु’

नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
2 months ago

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष…

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी
2 months ago

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी

कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी,…

कोरोना कहरः अग्रमोर्चामा खटिने प्रहरीमा जोखिम
2 months ago

कोरोना कहरः अग्रमोर्चामा खटिने प्रहरीमा जोखिम

काठमाडौं – शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ ।…

Below News 2